तीन वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले यस वर्षको असारमा विवाहमा परिणत गरे । एकातिर विवाहको तयारी चलिरहँदा अर्कोतिर उनीहरुले फिल्म ‘ह्रस्व दीर्घ’को तयारी पनि एकसाथ गरिरहेका थिए । बिहेको केही दिन अगाडि यो जोडीले फिल्मको शुभ साइत समेत गर्यो । फिल्ममा उनीहरुको निर्माणसँगै मुख्य भूमिका रहनेछ ।
नीता र हरिहरले ठूलो स्केलमा ठूलो खर्च गरेर ‘ह्रस्व दीर्घ’को निर्माण गर्दैछन् । भारतको हैदराबादमा अवस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो रामोजी फिल्म स्टूडियोमा फिल्म छायांकनका लागि निर्माण टिमले महंगोमा सम्झौता समेत गरिसकेको छ । निर्देशक चन्द पन्तले फिल्मको मुख्य भूमिकामा साउथका नाम चलेका कलाकारहरुसँग साइन गरेर फिल्मलाई ठूलो चर्चा समेत दिलाए ।
नीता र हरिहरले बिहेअघि हप्तैपिच्छे फिल्ममा ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीपराज राव जस्ता साउथका कलाकार भित्रिएको जानकारी दिएका थिए । साउथका कलाकारले नेपाली फिल्ममा अभिनय गर्न लागेको विषयले मिडियामा समेत ठूलो चर्चा पायो । तर, नीता र हरिहरको बिहेसँगै फिल्मको चर्चा पनि एकाएक सेलाएको छ । दुई महिनायता फिल्मको हल्लाखल्ला सुनिएको छैन ।
दशैं लगत्तै फिल्मको छायांकन सुरु गर्ने जानकारी नीता र हरिहरले दिएका थिए । तर, अहिलेको सन्नटा हेर्दा फिल्म बन्नेमै अन्योल देखिएको छ । यद्यपि, यो सन्नटा आँधी आउनुअघिको पनि हुनसक्छ । बुझिएअनुसार, फिल्मका लागि अझै केही भारतीय कलाकार छनोट गर्न बाँकी छ । निर्देशक पन्त अमेरिकामा भएकाले कलाकार छनोट प्रक्रिया रोकिएको हो । हालै उनी पिता बनेका छन् ।
‘ह्रस्व दीर्घ’ नीता र हरिहर दुवैका लागि विशेष छ । नीता यो फिल्मबाट आफूलाई निर्माताको रुपमा पनि स्थापित गर्न चाहन्छिन् भने फिल्म सफल भए उनको करिअरलाई पनि राहत मिल्नेछ । उता हरिहरलाई अभिनेताको रुपमा स्थापित गर्न ‘ह्रस्व दीर्घ’ले भूमिका खेल्न सक्छ । त्यसैले यो फिल्म उनीहरु दुवैको ड्रिम प्रोजेक्ट हो । तर, ड्रिम प्रोजेक्टले आकार लिन पो कति समय लाग्ने हो कुन्नी ?