देवेन्द्र पान्डेद्वारा निर्देशित गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि चलचित्रका निर्माता मणि नेपाली पनेरुद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो ।मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजिएको छ । चलचित्रका मुख्य कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीबीचको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथालाई पनि ट्रेलरमा देखाइएको छ ।
सौरपानी मिडिया प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्रलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर चलचित्र निर्माण भएको हो ।क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पुर्ण नेपालीको एकल संगीत रहेका चलचित्रका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक(गायिकाहरुको स्वर छ । ट्रेलर सार्वजनिक गरिए पनि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालअघि चलचित्रलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।