निर्देशक मणि रत्नमको फिल्म ‘पोन्नियिन सेल्भन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर दर्शकमा प्रतिक्षासँगै उत्सुकता अत्याधिक छ । ट्रेलर रिलिज भएपछि फिल्मको चर्चा मात्र चुलिएको छैन, सानदार भिजुअलले प्रशंसा बटुलिरहेको छ । यसलाई तमिलको ठूलो बजेटमा बनेको फिल्म भनिएको छ । भारतीय मिडियाका अनुसार, यो फिल्म ५ सय करोडमा बनेको हो ।
‘पोन्नियिन सेल्भन’मा चियान विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा, जयम रवि र कार्थी मुख्य भूमिकामा छन् भने प्रकाश राज, शोभिता धुलिपाला, ऐश्वर्या लक्ष्मी, प्रभु, जयराम र लाल कलाकारहरु सहायक भूमिकामा छन् । फिल्मको तमिल, तेलुगू, मलालयम, कन्नड र हिन्दी भाषामा सेप्टेम्बर ३० मा पहिलो पार्ट प्रदर्शन हुँदैछ । यसबीच, फिल्मको ओटीटी राइट्स निकै महंगोमा विक्री भएको छ ।
अमेजन प्राइम भिडियोले ‘पोन्नियिन सेल्भन’को ओटीटी राइट्स १ सय २५ करोडमा खरिद गरेको छ । फिल्मको बजेटको हिसाबले ओटीटी राइट्स सही मुल्यमा विक्री भएको बताइएको छ । त्यस्तै, सन टीभीले फिल्मको स्याटलाइट राइट्स पनि महंगोमा खरिद गरेको भारतीय मिडियाले बताएका छन् । रिलिज अगावै ओटीटी र स्याटलाइटबाट फिल्मले लगानीको आधा हिस्सा उठाएको छ ।