प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब विवादको विषयमा नेपाल चलचित्र निर्माता संघले विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सुविधाको माग दाबी गर्नु बाञ्छनीय नहुने बताएको छ । आइतवार संघका महासचिव सुनिल कुमार थापाद्वारा जारी विज्ञप्तिमा ऐन कानुनको बर्खिलाफ हुने भएकाले यसले भविष्यमा विकृतिको सुरुवात गर्ने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको नियम र कानुनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्दछन् र पाउँदछन् पनि । तर, विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको माग दाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन–कानुनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो । यही कुरा संस्थाको प्रतिनिधिको रुपमा अध्यक्ष वा अन्य पदाधिकारीबाट अभिव्यक्त भएको हो ।’
‘प्रेमगीत ३’लाई प्रदर्शनको साथै कर तथा राजश्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको माग दाबी सम्बन्धमा चलचित्र क्षेत्रको एक मात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताविक विधी तथा विधान अनुरुप गरिनु पर्ने पनि संघको विज्ञप्तिमा उल्लेख छ ।
यही विहीवार चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिने वा नदिने भन्ने विषयमा राय लिन बोलाएको बैठकमा निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्र सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति दिएका थिए । जसको यतिबेला व्यापक आलोचना भइरहेको छ । तर, संघको विज्ञप्तिमा अध्यक्ष खड्काले बोलेको राष्ट्रघाती र देशद्रोही शब्द गलत थियो भनिएको छैन ।