आउँदो कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै दुई डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराईली फिचर्ड छन् ।
विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने प्रमोद के भण्डारीको कोरियोग्राफी छ । एसडी योगी र रेश्मा पुनको युगल स्वर रहेको गीतमा गायक योगीकै संगीत र राम अविरल विष्टको शब्द रचना छ । विपी राजमार्ग र त्यस नजिकका रमणीय ठाउँहरुमा खिचिएको गीतको अडियो र भिडियो पक्ष सशक्त छ ।प्रदीप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ । समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई चलचित्रले व्यंग्य गरेको छ ।
षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् ।