निर्वाचनमा ‘भिजनरी’ पुस्तालाई नरोकौं

राज्य सञ्चालनमा ‘भिजनरी’ पुस्तालाई पुर्‍याउनबाट रोकिनु भनेको विकास र समृद्धिको वेगलाई रोक्नु हो । मतदाताले यतिबेला एउटा संकल्प लिनै पर्ने बेला आएको छ । उक्त संकल्प भनेको यथास्थितिवादी शक्तिको विकल्पका रूपमा परिवर्तनकारी एजेण्डा बोकेका युवा पुस्तालाई राजनीतिमा जबर्जस्त स्थापित गर्नु नै हो ।

मुलुक निर्वाचन नामक ‘महासंग्राम’को पूर्वसन्ध्यामा छ । जनताले आफ्नो प्रतिनिधि छान्ने सुवर्ण अवसरका रूपमा निर्वाचनलाई लिने गरिन्छ । तर नेपाल, भारत जस्ता दक्षिण एशियाली मुलुकमा भने मतदाताले निष्पक्ष र भयरहित निर्वाचन हुँदा समेत वास्तविक ‘नेता’ छनोटमा ध्यान पुर्‍याउन सकेको देखिंदैन ।आज सत्तापक्ष र प्रतिपक्ष दुवै आ–आफ्नो हैसियत अनुसार गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । यसले देखाउँछ– भिजन भएका पुस्तालाई मुलुक संचालनको ड्राइभिङ सिटमा पुग्नबाट रोक्नका निम्ति पुनः उनै ‘प्रम र पूर्वप्रम’ले संसद्मा सहज प्रवेश पाउने देखिन्छ ।

यसले मुलुक संचालनको निम्ति उपयुक्त भिजनरी पुस्तालाई रोक्ने मात्र नभई मुलुकको समृद्धिका निम्ति समेत उनीहरू बाधक बन्ने र विकासको वेग धकेलिने कुरामा दुईमत नरहला ।आसन्न निर्वाचन आफैंमा एउटा आ–आफ्नो दलभित्र पनि यथास्थिति र परिवर्तनकारी शक्तिबीचको जनमत संग्रह हो । उक्त जनमत संग्रहमा सामेल जनताले आफ्ना प्रतिनिधि चयन गर्दा यथास्थितिवादीलाई चयन गर्ने तर, परिवर्तन भने सिंगापुरको झैं खोजिनु आफैंमा विरोधाभासपूर्ण त छँदैछ, परिवर्तन र समृद्धिका निम्ति सपना बोकेका युवापुस्ताका निम्ति अन्यायपूर्ण पनि हुनेछ नै ।

आज मुलुकमा वैदेशिक ऋणको भार करिब २० खर्बको हाराहारीमा छ, आन्तरिक ऋण त्यत्तिकै छ । डलर सञ्चिति घट्दो अवस्थामा छ । बेरुजुको अंक बर्सेनि बढिरहेकै छ । यो अवस्थामा राज्य सञ्चालनमा ‘भिजनरी’ पुस्तालाई पुर्‍याउनबाट रोकिनु भनेको विकास र समृद्धिको वेगलाई रोक्नु हो ।प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल हुँदै माधवकुमार नेपालसम्मले नेपालको राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानका निम्ति मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ नै । अब समृद्धिको यात्रामा पनि ‘नाति–नातिना’ खेलाएर तथा वृद्धभत्ता लिएर घरै बस्नुपर्ने तिनै प्रौढ नेतासँग आशा राखिनु भनेको एकातिर मतदाताको निर्णय अपरिपक्व त हुन्छ नै स्वयम् उहाँहरूका निम्ति पनि अन्याय हुनेछ ।

उहाँहरूको भिजन केवल रोल्पाको डाँडामा भ्यूटावरदेखि पाल्पामा करुवा हुँदै चितवनमा गैंडाको प्रतिमा बनाइनु रहेको प्रष्ट देखियो । नेपाली जनताले खोजेको समृद्धि भनेको आर्थिक क्रान्तिका निम्ति कृषिमा आधुनिकीकरण, ट्रेड युनियनको अल्झन बेगरको उद्योग, कल–कारखाना, समथर भूभागमा सिंचाइ तथा पहाडी क्षेत्रमा माटोको परीक्षणसहितको नगदेबाली थियो ।

सँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउनका निम्ति लगानीको वातावरणसहित सुरक्षाको ग्यारेन्टीको अपेक्षा समेत थियो । तर, नेतृत्वले मुलुक निर्माणको मार्गचित्र प्रस्तुत गर्न सक्ने डाक्टर त्रय मिनेन्द्र रिजाल, स्वर्णिम वाग्लेदेखि गोविन्द पोखरेल हुँदै विचारक घनश्याम भूसालसम्मलाई जनताका बीच जानबाट आ–आफ्नो पार्टीले वञ्चित समेत गरायो ।अझ, उदेकलाग्दो कुरा त कमल थापाले ‘सूर्य’ चिह्न भने उता दीपक मनाङे निर्विरोध निर्वाचित समेत हुनुले गणतन्त्रको खिल्ली समेत उड्न पुगेको छ ।

विचारको स्वतन्त्रता बेगरको ‘सिस्टम’लाई लोकतन्त्र मान्न सकिन्न । विचार राखेकै आधारमा विरोधी जतिको खोजी–खोजी राजनीतिक हत्या गर्ने र स्वस्थानी व्रतकथाको प्रसाद जस्तो भए छोरा, नभए मीत छोरा, त्यो पनि नभए बगाइदिने प्रवृत्तिले नै गणतन्त्र माथि समेत संशय पैदा गर्दै लगेको छ ।कांग्रेस महामन्त्री गगन थापाले देश संचालनको ड्राइभिङ सिटमा म वा मेरो पुस्ता बस्छ र भिजनसहित देश संचालन गर्छ भन्ने उद्घोष गरे । तत्कालै युवाहरूका प्रतिनिधिमूलक पात्र तथा कांग्रेस पार्टीकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरिहाले । गगनले भनेजस्तै अब यतिबेला युवाले नै हो ड्राइभिङ सिटमा बसेर देशलाई ‘ड्राइभ’ गर्ने । भिजिनरी युवाहरूलाई संसद्मा सहजरूपमा ‘मत’का माध्यमबाट जनताले पुर्‍याउन नसक्ने हो भने पुनः समृद्धिको सपना देख्नु आफैंमा विरोधाभासपूर्ण हुनेछ ।

समयले नेतृत्वको निर्मम परीक्षा लिने गर्दछ । भूकम्पपछिको गुजरात जुरुक्क उठाउने सपना यदि मोदीमा थिएन भने मोदी आज मोदी बन्ने थिएनन् । आर्थिक समृद्धिसहित नेपाल निर्माणको भिजन भएका युवा पुस्तालाई संसद्मा जानबाट रोकेर समृद्धिको सपना देख्नु वा पुरानै पुस्तालाई मुलुकको बागडोर सुम्पनु भनेको जनता स्वयं पनि परिवर्तनको मुद्दामा विचलित छन् भनेर बुझ्नुपर्ने हुन्छ ।राष्ट्रिय गौरवका आयोजनाको कामको प्रगति त ‘टिठ’ लाग्दो छ नै, सरकार फेरिएसँगै हरेक क्षेत्रमा नीति समेत परिवर्तन गरेर मुलुकको विकासको गति ‘हाँस न खरायो’को चालमा पुर्‍याइयो । आजका मितिमा नेपाली जनताको जनचाहना पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?