विजयादशमीको अवसर पारेर असोजको २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’लाई दर्शकले शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् । २ घन्टा ७ मिनेट लामो चलचित्रलाई निर्माणपक्षले ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । निर्माता किरण नेपालीले भने–‘हामीले शुक्रबारदेखि चलचित्रलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । चलचित्रको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरिएको छ ।’
२ साता दर्शकले चलचित्रलाई उल्लेख्य रुपमा साथ दिएका छन् । निर्माता नेपाली चलचित्र मुनाफामा भइसकेको दाबी गर्छन् । चलचित्रको लाइफ टाइम कलेक्सनको आधारमा प्राविधिकलाई बोनस बाँड्ने तयारीमा समेत निर्माता नेपाली छन् । अब, तिहारको अवसरमा पनि चलचित्रले राम्रो व्यापार गर्ने निर्माताको आशा छ ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ । नयाँ भर्सन हलमा लागेपछि दर्शकलाई अझै मन पर्ने विश्वास निर्देशक लामाको छ ।