बाराको परवानीपुर गाउँपालिका-३ लिपनीमालको विएस पार्टी प्यालेसमा आइतबारदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड लागेकाे छ ।
ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनिमार्फत बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरुको अन्तर्वार्ता लिन थालेको पाइएको हो । मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा ‘फ्रि टिकेट, फ्रि भिजा’ दिएर पठाउने योजना छ ।
निर्वाचनलाई केन्द्रित गरेर नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम भएको र युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन थालेको अन्तर्वार्ता दिन आएका युवाहरु बताउँछन् । उनीहरुकाअनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्वसूचनाअनुसार अन्तर्वार्ता लिइएको छ ।
यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाउनु भयो । बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरित भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उहाँको माग छ ।
बारा क्षेत्र नम्बर ४ (ख) का मधेश प्रदेश सभा उम्मेदवार आत्माराम साहले युवाहलाई विदेश पठाइदिन प्रि अन्तर्वार्ता लिने काम भइरहेको भन्दै यो निर्वाचन नियमावलीविरुद्ध भएको बताउनुभयो । उहाँले यो विषयमा निर्वाचन कार्यालयहरुले कारबाही गर्नुपर्ने बताउनुभयो । प्रतिष्पर्धी मात्र नभइ युवा र स्थानीय नागरिकहरु उम्मेदवार श्रेष्ठको कदमबाट अक्रोशित भएका छन् ।
नेता श्रेष्ठले निर्वाचनका लागि कोप्रि अन्तर्वार्ता थालेको तर बाराका मात्रै युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट भन्दै अन्तर्वाता सुरु गरिएका कारण निर्वाचनमा प्रलोभन देखाउने काम भइरहेको नागरिकहरुले बताएका छन् ।