धानबालीमा डरलाग्दो मानिने खैरो फड्के किरा र पोके रोग अहिले पाल्पामा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसानहरू परेका छन् ।
धानबालीमा प्रकोपकै रूपमा खैरे फड्के किरा र पोके रोगले धानको बाला नष्ट हुन थालेसँगै जिल्लाका किसान चिन्तित बनेका छन् । जिल्लाको तानसेन र रामपुर नगरपालिका सहित पाल्पाको पूर्वखोला, रम्भा, माथागढी, तिनाउ र बगनासकाली गाउँपालिकाको धानबाली लगाइने फाँटहरूमा खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखा परेको छ । रैथाने धानको बीउ हंशराज, मन्सरो र आँपजोते जस्ता बीउ विस्थापित भएसँगै आधुनिक बीउ मोतिसाँवामा बढी समस्या देखा परेको हो । धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगले यसवर्ष धान उत्पादन घट्न सक्ने बताउनुहुन्छ तानसेन नगरपालिका– ९ दमकडाका कृषक नारायण अर्याल ।
यता पूर्वी पाल्पाको रामपुर नगरपालिका स्थित रामपुर फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको छ । खैरे फड्के रोगको संक्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रण बारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पहिलो चरणमा धानबालीको अनुगमन, रोगको पहिचान र ब्यवस्थापनको प्रयास भइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका बाली विकास अधिकृत मिलन गैरेले बताउनुभयो ।
पाल्पाको कुल खेतीयोग्य क्षेत्रफल ५७ हजार १ सय ७२ हेक्टरमध्ये ८ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । समयमै भएको वर्षाका कारण यसवर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । धानबालीमा देखिएको प्रकोपले कृषकहरुमा देखिएको प्रत्यक्ष असरको समाधानको लागि सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।