टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आयरल्याण्डलाई नौ विकेटले हरायो, भारत र पाकिस्तानको खेल चल्दै

अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा श्रीलङ्काले आयरल्याण्डलाई नौ विकेटले पराजित गरेको छ ।

आयरल्याण्डले दिएको एक सय २९ रनको लक्ष्य श्रीलङ्काले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्योे ।

श्रीलङ्काको लागि कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रन बनाए । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१–३१ रन बनाए ।

आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन र पल स्टर्लिङले २५ बलमा ३४ रन बनाए । श्रीलङ्काका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २–२ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाले समान १–१ विकेट लिए ।

यस्तै आजको दोस्रो खेलमा अहिले भारत र पाकिस्तान खेलिरहेका छन् । भारत र पाकिस्तानबीचको यो खेललाई निकै महत्वका साथ हेरिएको छ ।

अहिलेसम्म भारत र पाकिस्तान विश्वकपमा १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?