चुनाव प्रचार गर्न जाँदा फलानो नराम्रो म राम्रो भन्न पाइँदैन

निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल र सहमति समेतको आधारमा आचारसंहिता जारी गरेको हो । चुनावको समयमा आचारसंहिता पूर्णरुपमा पालना गर्छु भनेर हस्ताक्षर गरिसकेपछि अहिले आचारसंहिता थाहा थिएन, जानकारी थिएन भनेर कसैले भन्न पाइँदैन । आचारसंहिता कार्यान्वयन भइरहेको छ ।

आचारसंहिता विभिन्न ठाउँमा उल्लङ्घन भइरहेको भन्ने हामीलाई जानकारी छ, खबर छ, रिपाेर्ट छ । हाम्रै सूचना केन्द्रले पनि हामीलाई सूचना गरिरहेका छन् । र, त्यो ठाउँमा आचारसंहिता वास्तवमा उल्लङ्घन भएको हो कि होइन भनेर हामीले मसिनोसँग अनुसन्धान गरेर छानबिन गरिरहेका छौँ । र, त्यो छानबिनको क्रममा यस्ता उजुरीहरु पनि हामीले भेटेका छौँ कि कसैलाई कसैको विरुद्ध रिस उठ्यो भने त्यसले आचारसंहिता उल्लङ्घन गर्यो भनेर झुठा प्रमाण पनि दिएको हुन्छ । त्यसो भएको हुनाले उजुरी सत्यतामा आधारित हुनुपर्छ । सत्य, तथ्यले के भन्छ र त्यसको प्रमाणले के बोल्छ, वस्तुनिष्ठ तवरबाट आचारसंहिता उल्लङ्घन भएको हो वा होइन भन्ने कुरा आयोगले अनुसन्धान गरिरहेको छ ।

आचारसंहिताको कुरा गर्दा हामीले दुई किसिमले हेर्नुपर्छ । जान्दाजान्दै आयोगलाई नटेरेको हो कि भनेर अहिले नै परिभाषा गर्न मिल्दैन । किनभने जो मान्छे चुनावमा सरिक हुनुहुन्छ, चुनावमा सरिक हुने, सम्बद्ध हुने उम्मेदवारहरु र समर्थन गर्ने मतदाता लगायत अगुवा कार्यकर्ता जति हुनुहुन्छ निर्वाचन आयोगले के गरिरहेको छ अथवा चुनावको प्रक्रियामा सहभागी हुँदा के कस्तो आचरण परिपालन गर्नुपर्छ भन्ने कुरा सबैलाई पूर्ण जानकारी हुन्छ । पूर्ण जानकारी भएर मात्र उहाँहरु चुनावमा आउनुहुन्छ । त्यसकारण उहाँहरुले जान्नु भएको छैन, अध्ययन गर्नु भएको छैन भन्ने होइन । सबैले अध्ययन गर्नु भएको छ । तर, अध्ययन गर्दागर्दै पनि कति ठाउँमा उहाँहरुले आचारसंहिता उल्लङ्घन गरेको हो भन्ने कुराको हामीलाई उजुरी परेको छ । अब हो होइन भन्ने कुरा चाहिँ कतिपयले यतिसम्म मिच्दा हुन्छ नि त भन्ने सोच राखेर गर्नु भएको पनि हुनसक्छ । त्यो हो भने उहाँहरुको भुल हो । किनकि ऐनलाई, कानुनलाई, संविधानलाई मिच्न पाइँदैन । ऐन, नियम, कानुन र संविधान तथा आचारसंहिताको लक्ष्मण रेखाभित्र रहेर सबैले त्यसलाई परिपालना गरेर अघि बढ्नुपर्छ । यदि कसैले आचारसंहिता उल्लङ्घन गरेको छ, कानुनको परिपालनाभन्दा बाहिर निस्केर म मान्दिनँ भन्छ भने पक्कै पनि उहाँहरु कानुनको दायरामा आउनुपर्ने हुन्छ । कानुनको दायराभित्र उहाँहरुलाई कानुनले ल्याउँछ । आयोगले ल्याउने होइन कि कानुनले ल्याउँछ । किनकि विधायिकाले जे सोच राखेर ऐन बनायो त्यो ऐनलाई कार्यान्वयन गर्ने आयोगको दायित्व हो । कार्यान्वयन गर्ने सन्दर्भमा कहीँ कमी कमजोरी हुन दिँदैनौँ भन्नेमा आयोग प्रतिबद्ध रहेका जानकारी गराउँछु ।

सबै जिल्लाहरुमा नै मुख्य निर्वाचन अधिकृतहरु हुनुहुन्छ । उहाँहरुको संयोजकत्वमा त्यहाँ एउटा समिति छ । त्यसको अतिरिक्त केन्द्रीय स्तरमा हामीले पनि गरिरहेका छौँ । हाम्रो केन्द्रीय स्तरमा विभिन्न युनिटहरु छन् । कतिपय गोप्यताका कारण अहिले मैले सबै व्याख्या गरिन् । हाम्रो युनिटहरु चौबीसै घण्टा खटिरहेका छन् । र, देशभर अनुसन्धान गरिरहेका छन् । कसैले पनि अनुसन्धान भएको छैन, आयोगलाई सूचना छैन, आयोगलाई जानकारी छैन त्यसकारण यहाँनेर आचारसंहिता उल्लङ्घन गर्छु भनेर उल्लङ्घन भयो भने देशको कुनै पनि कुनाकाप्चाबाट क्षणभरमा उजुरी आउँछ । हामीले स्पष्टीकरण सोध्छौँ । हो कि होइन भने हेर्छौँ, अध्ययन, अनुसन्धान गर्छौँ र अनि मात्र हामी निचोडमा पुग्छौँ । अन्यत्रबाट उजुरी नआए पनि आयोगले सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको छ । यसमा कतिपय दृष्यमा आउने अनुसन्धान हुन्छ भने कतिपय दृष्यमा नआउने तर आयोगले स्पष्ट रुपमा अनुसन्धान गरिरहेको विषय पनि छ । त्यसकारण हामीले सुक्ष्म अनुगमनबाट आएको उजुरी र त्यहाँबाट आएको प्रतिवेदनको आधारमा पनि हामीले छानबिन गरिरहेका छौँ । त्यसका अतिरिक्त हाम्रो विभिन्न समिति, उपसमितिहरुले टड्कारो रुपमा छानबिन गरिरहनु भएको छ । र, कहीँ आचारसंहिता उल्लङ्घन भएको छ भने उहाँहरुले पाएको क्षेत्राधिकार भित्र रहेर त्यहीँ कारबाही गर्नुहुन्छ । यदि उहाँले त्यसरी कारबाही गर्नु भएन भने विस्तृत प्रतिवेदनसहित आयोगमा पठाउनुहुन्छ र आयोगले तत्क्षण नै कारबाही गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?