अर्घाखाँचीकाे शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएकाे छ ।
शनिवार हिजाे बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा-४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएकाे हाे ।
साविककाे ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर, सुवर्णखाल गाविसका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
टेलिफोन टावरमा समस्या आएपछि नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्क, बुटवल र काठमाण्डौमा पटक पटक ताकेता गरिएकाे तर समस्या भने समाधान नभएकाे स्थानीयकाे गुनासाे छ ।
टावरमा जडान गरिएका उपकरण जीर्ण भएका र चट्याङका कारण काम गर्न छाडेकाे नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कले जनाएकाे छ । काठमाण्डाैबाट नयाँ उपकरण मगाइएकाे टेलिकमले जनाएकाे छ ।
नयाँ उपकरण आएपछि टावरमा जोडिने नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कका प्रमुख इञ्जिनियर गोविन्द पराजुलीले जानकारी दिनुभयाे ।