सरकारले अरूलाई दाेष थुपारेर काममा ढिलासुस्ती गर्ने छुट छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अरूलाई दोष थुपारेर काममा ढिलासुस्ती गर्ने छुट नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङको प्रथम जिल्ला सम्मेलनलाई आइतवार घोराहीमा सम्बोधन गर्दै महामन्त्री थापाले केन्द्रदेखि पालिकासम्म वर्तमान गठबन्धनकै सरकार रहेकाले अरूलाई दोषारोपण गर्ने र काममा कन्जुस्यायँ गर्ने छुट नरहेको बताउनुभयो । ३५ वर्षपछि देशको आर्थिक अवस्थामा सङ्कट देखापरेको, नागरिकमा निराशा छाएको भन्दै उहाँले पाँच वर्षमा गर्नुपर्ने काम अहिलेकाे सरकारले पाँच महिनामा गर्नुपर्ने बाध्यता आएको हुँदा त्यहीअनुरूप काम गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिकूलतालाई अनुकूलतामा ढालेर काम गर्नुपर्ने बताउँदै उहाँले यही कुरा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिवारको भेटमा सजग तुल्याएको बताउनुभयो ।

महामन्त्री थापाले पार्टीको नीति सिद्धान्तभन्दा पनि केही व्यक्ति र उनीहरूको कामका कारण नेपाली कांग्रेसमाथि टिप्पणी हुने गरेको भन्दै पार्टीलाई अब नयाँ शिराबाट लैजान जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीलाई २००७ सालको क्रान्तिकारी चेत, १५ सालको जस्तो काम, २०४८ सालको जस्तो लोकप्रिय बनाउँदै २१ औँ शताब्दीको आधुनिक पार्टी बनाउन सकै लाग्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?