निस्दी गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पादन गरेको कामको सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले गरेका कामको बिषयमा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा हालसम्म वित्तिय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च भएको उल्लेख छ । हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक भएको बताईएको छ ।
निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु उर्जा सञ्चालनमा ल्याइएको, वडा वडामा एकीकृत घुम्ती र स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७३ जनालाई रोजगारमूलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । १५ शैयाको अस्पतालको पर्खाल निर्माण र दोस्रो ढलानको काम भइरहेका समेत प्रतिवेदनमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि विशेष योजना अगाडि बढाइएको छ ।
यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले निस्दीमा बालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रवद्र्धन, बिजुली, यातायात, खानेपानी, सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने जिज्ञासा तथा सुझाव राखेका छन ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझावका विषयमा गाउँपालिकाले आगामी दिनमा नागरिकले महशुस गर्ने गरी कार्यान्यन गर्ने प्रतिबद्घता ब्यक्त गरे । उनले गाउँपालिकाले परिणाम आउने खालको काम गर्न पालिका तल्लिन रहेको धारणा राखे । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मूलक र उत्पादनमुखी काम गरिने बताए । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खाँण, नेकपा एमालेका नेता दमन सिंह थापा लगायतले गाउँपालिकाको सेवा प्रवाह र योजना तथा कार्यक्रमका विषयमा आआफ्ना भनाइ राखेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्यालले गरेका थिए भने कार्यक्रम संचालन पत्रकार दयाराज न्यौपानेले गरेका थिए ।
धनबहादुर ठाडा