नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियान अन्तर्गत शुक्रबार पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा-२ का जनता एमाले जिताउन आतुर रहेको बताए । पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेशको मुद्धा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताए । ‘बारा-२ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’ बारा-२ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे । उनले यहाँका जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताए । यसैगरी, तेतरियामा आयोजित सभामा बोल्दै उम्मेदवार पौडेलले बारा-२ एमालेको क्षेत्र रहेको बताए । बारा-२ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउँदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डा फहरिने बताए । उनले एमालेको जितले मात्रै बारा-२ को मुहार फेरिने समेत बताएका छन्