नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६३२ जनाको स्वाब परीक्षण गर्दा १०४ जनामा सङ्क्रण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमित निको भएका छन् भने थप एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७९ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३४ जना आइसोलेसन, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख २ हजार २४१ जना पुगेको छ भने ९ लाख ८९ हजार ८३९ जनाले संक्रमण जितेर निको भएका छन् । कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख २७ हजार १७१ जनाको पीसीआर र १५ लाख ५८ हजार ५५३ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको छ ।