तानसेन नगरपालिकाका मेयरको एउटा बानि छ, जे हो त्यो बोलिहाल्ने । गोप्य छलफल गर्ने, सार्वजनिक बिषयमा पनि सुचना मैत्री नहुने जनप्रतिनिधिका अगाडि तानसेनका मेयर सन्तोष लाल श्रेश्ठको स्वभाव अनुकरणिय छ । बैशाख २० गते जिल्ला समन्वय समितीको सभाहलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यक्रममा एउटा प्रसङगमा मेयर श्रेश्ठले भने ‘दिवा खाजामा तानसेनका बिभिन्न बिद्यालयले बिद्यार्थीको फर्जि रेकर्ड देखाएर अनियमितता गरेका रहेछन ।’ कार्यक्रममा सहभागी तानसेन ९ का अध्यक्ष राजेश कुमार अर्यालले तत्काल प्रतिक्रिया जनाउँदै सबै सहि नभएको तर्क गरे । यो सानो घटना मात्रै हो । यसबाट के प्रमाणित हुन्छ भने तानसेनका मेयर श्रेश्ठ जे हो त्यो बोलिहाल्छन भलै त्यसको प्रभाव जस्तो सुकै होस ।
मेयर श्रेश्ठकोे सपना तानसेनलाई पर्यटकिय नगरि बनाउने हो । यसको लागि लागिरहेको उनको भनाई छ । ‘त्यो खोँचमा पुगेर काली नदीको किनारमा बिशाल दरवार कसरी बनाए होलान ? मेयरले भने ‘हामिले त्यसको उपयोग गर्नुपर्छ त्यो बेचिरहन मिल्ने, आम्दानी भैरहने र नगरसंग सधै रहिरहने सम्पत्ति हो ।’ प्राचिन कला कौशल, सांस्कृतिक सम्पदा र पर्यटकीय स्थल तानसेनको सम्पत्ति भएको र त्यसबाट पर्यटकको चहल पहल बढाई आम्दानी गर्ने नगरको योजना छ । यसको छनक तथ्याङकमा समेत देखिएको छ । नगरपालिकाले श्रीनगर डाँडा र रानीमहलबाट गत वर्ष भन्दा झण्डै ४ गुणा बढि अर्थात ७७ लाख ७८ हजार राजश्व संकलन गरेको छ । असार मसान्त सम्म यो १ करोड पुग्ने अनुमान छ । जबकी अघिल्लो आर्थिक वर्षमा २० लाख ५६ हजार ७ सय ८० रुपैँया मात्रै राजश्व संकलन भएको थियो । मेयर श्रेश्ठले श्रीनगर डाँडा, ऋषिकेश मन्दिर, भगवती मन्दिर, अमर नारायण मन्दिर, गुफाचौर, कुहिरेभिर तानसेनको मुख्य सम्पत्ति भएको तर बेच्न नसकिएको बताउँछन । ‘हामिले बिज्ञहरुको सल्लाहमा योजना गर्नुपर्ने छ, काम हुन्छ जसरी पनि गर्नुपर्ने छ, तानसेनलाई एकपटक चम्काउनु पर्ने छ ।’ उनले भने ।
मेयर श्रेश्ठ तानसेनको विकासका लागि २ तरिकाले काम गरिरहेको बताउँछन । उनले कोर बजार र गाउँ क्षेत्रलाई एकै किसिमले विकासको लागि सोँच्दा सफल नहुने निश्कर्षमा काम गरेका छन । नगरपालिका भएपनी कतिपय वडाहरु भुगोल तथा पुर्वाधारको अवस्थाले समान नभएकाले कोर बजार र गाउँ क्षेत्रलाई एउटै प्रकितीको विकास रणनितीले नहुने उनको बुझाई छ । ‘तानसेनको कोर सिटी र गुफाचौरमा त फरक छ नी, भुगोल फरक छ, अहिलेको अवस्थामा सुविधामा आकास जमिनको फरक छ’ मेयर श्रेश्ठले भने, ‘त्यसैले कोर बजार र गाउँलाई फरक हिसावले योजना बनाउनुपर्छ ।’
आर्थिक शुशासन बिना सफल हुन नसकिनेमा आँफु प्रश्ट रहेको मेयर श्रेश्ठको भनाई छ । उनि आफुँ आर्थिक मामलमा निर्दयी हुने तर्क गर्छन । । उनले खर्च कसरी कम गर्ने, कर्मचारिहरुबाट कसरि धेरै काम गर्ने, स्रोत संकलन कसरी गर्ने भन्नेमा ध्यान दिएका छन । उनले भने, ‘एउटा कार्यपालिका बैठक बस्दा ५० हजार खर्च हुन्छ, पहिला १ महिनामा ५ देखि ७ वटा बैठक हुँदो रहेछ । मैले त फोन गरेर बिषय यो हो भनेर सबैलाई जानकारी गराउँछु कतिपय कुरा फोनबाट गर्न सकिन्छ बैठक बस्न आवस्यक छैन । सेवा ग्राहीलाई पनि जतिबेला पनि बैठकमा छु भनेको राम्रो हुँदैन के । बैठकमा मात्रै गत वर्ष भन्दा यो वर्ष ७ लाख कम खर्च हुन्छ ।’
मेयर श्रेश्ठ बजार क्षेत्रका कार्यक्रममा निजी स्कुटरमा जान्छन । ‘मलाई गाडि किन चाहियो ? छिटो पनि हुन्छ पैसा पनि बँच्छ, काठमाण्डु जाँदा स्कुटर लगेर भएन गाडि नै चाहियो यहाँ त स्कुटरले भयो नी ।’ उनले भने ।
आम मानिसहरुले तानसेन नगरपालिकामा दशकौ देखिका कर्मचारीको काम गर्ने प्रवृती माथि प्रश्न गरेको प्रति मेयरले उनिहरुलाई फलो नगरेका कारण काम कम हुने गरेको बताए । ‘बाउआमाले छोराछोरीलाई ख्याल नगरे त बिग्रिन्छन अनि कर्मचारी पनि त्यस्तै हो । निगरानी गर्नुपर्छ । मैले त फलो गर्छु अनि क्रस चेक गर्छु, काम नगरे सम्म फलो गर्छु । भिडियो माग्छु । उनले रानिमहलमा फुल राम्रो नभएको सुनेको भन्दै शाखा प्रमुखलाई त्यसको भिडियो मागेको प्रमाण देखाउदै भने फलो गर्नुपर्छ । मत ५ वर्षका लागि जहान परिवार केटाकेटी लाई मैले समय दिन सक्दिन भनेर आएको हँु । काम नगरी नतिजा नदिई कहाँ हुन्छ र ?’ उनले भने ।
आगामी आर्थिक वर्षमा लेण्डफिल्ड साईडको काम गर्ने मेयरको योजना छ । फोहर ब्यवस्थापनको बिषयमा देश बाहिर गएर पनि सिकेको बताउँदै उनले प्रभावित क्षेत्रका नागरिकहरुसंग छलफल गर्न लागेको बताए । ‘बजार नजिकै जङगलको बिचमा फोहर फालेको मैले कहाँ हेरेर बस्छु र ? अनि मलाई थाहा छ मासु खाने अनि हड्डी लगेर लेण्डफिल्ड साईडमा फालेको प्रभावित क्षेत्रका जनताले स्विकार गर्दैनन् । त्यो त अन्याय भयो नी ।’ उनले भने ।
ल्याण्डफिल्ड साईडमा नकुहिने फोहोर मात्रै फाल्ने र त्यसाबाट आर्थिक उपार्जन गरि स्थानीयलाई समेत लाभांस दिने योजना बनाएको मेयर श्रेश्ठको भनाई छ । आवश्यक सामग्रीहरुका लागि नगरपालिकाको एकल लगानि हुनेछ । ‘मलाई दरबार आसपासको टहरा पनि हटाउन सक्दैन भनिएको थियो सल्लाहले नै हटाईयो नी’ मेयर श्रेश्ठले भने, ‘फोहोर पनि फालिन्छ तर छलफलबाट सहमति हुन्छ हुनुपर्छ । असफल भएछु भने पनि काम गरेर हुने हो काम गर्न सकिदैन क्यारे भनेर सुरुवात नै नगरी असफल हुने होईन ।’
मेयरले आम तानसेन बासिले आफुँलाई राम्रो रुपमा लिएको बुझेका छन । ‘मेरो पछाडी त नराम्रो पनि भन्लान तर मेरो अगाडि ठिक छ भन्छन ।’ सबैको चित्त बुझाउन नसकिने उनको आषय थियो । तर अहिले नागरिकहरुले घर वरिपरीको झार पनि पालिकाले नै उखेलीदियोस भन्ने आसा गरेको बताए । ‘पहिला पहिला त आँफै गर्ने चलन थियो अहिले यो चाँहि अल्लि बढि भए जस्तो लाग्छ ।’ उनले भने ।
कुषिमा अनुदान, संस्कृती बचाउनका लागि अभियान, २० युनिट सम्मको बिद्युत महशुल निशुल्क, गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स, छाडा चौपाया ब्यवस्थापन, बेवारिसे मानिसहरुका लागि आश्रय, सेवा प्रवाहमा सहजता लगायतका बिषयमा नगरपालिकाले राम्रो गरेको उनको बुझाई छ ।
नगरपालिकामा बाँझो जमिनलाई उत्पादन संग जोड्न र युवाहरुलाई स्वरोजगार बनाउने योजना कार्यान्वयन गर्ने चुनौती छ । बिद्यार्थीको पेट भोको राखी बिद्यालयले खाजामा गरेको बदमासीले शैक्षिक नेत्रित्व माथि औँला ठड्याईरहेको छ । सार्वजनिक समारोहमा नगर प्रमुख र उप प्रमुख दुवैको उपस्थिती मन पराईएको छैन । पुरानो शहर तानसेनलाई चलायमान बनाउने प्रमुख चुनौती मेयर संग छ । स्वास्थ्य क्षेत्र सन्तोष जनक भएपनी नगरबासीले तिर्खा मेट्ने गरी पानी खान पाएका छैनन ।