साउदी जाने श्रमिकले तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने, पुरानै प्रक्रियामार्फत भिसा जारी

रोजगारीका लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ । यसअघि नेपालमा रहेको साउदी दूतावासले जुन १२ अर्थात् यही जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्ने सूचना जारी गरेको भए पनि तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा दिने बताएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा दिने भनिएको छ, जुन १२ देखि शैक्षिक प्रमाणपत्र नभएकालाई भिसा जारी नगर्ने भनिए पनि हिजोदेखि यो नियम लागू भएको छैन ।’ साउदी दूतावासले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको भिसा आवेदन दिँदा शैक्षिक योग्यताको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेस गर्न म्यानपावर एजेन्सीहरूलाई सूचना पठाएको थियो ।

शैक्षिक योग्यताको प्रमाणपत्र परराष्ट्र मन्त्रालय र साउदी दूतावासमार्फत प्रमाणीकरण भएको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।  भिसाको आवेदन दिने व्यक्ती कम्तीमा पनि लेख्न र पढ्न जान्ने होस् भन्ने उद्देश्यले यो नियम ल्याएको पनि दूतावासले सूचनामा उल्लेख गरेको छ ।

साउदीको पछिल्लो निर्णयले नेपालबाट साधारण (अदक्ष) श्रमिकको रूपमा वैदेशिक रोजगारीमा जानेहरूलाई झन्झण्ट हुने र कयौँ श्रमिक एसईईसम्मको शैक्षिक योग्यता नभएकै कारण रोजगारीबाट वञ्चित हुने अवस्था आउन सक्ने व्यवसायी सङ्घको भनाई छ ।

साउदीमा अदक्ष रूपमा अहिले गइरहेका श्रमिकहरू धेरैजसोको हातमा सम्बन्धित कामबारे सीप भएको हुने, कतिपय वर्षौदेखि नेपालमा त्यही काम गर्दै आएकाहरू र कतिपय भने विदेशमा काम गरेर अनुभव लिइसकेका तर शैक्षिक योग्यता नभएकाहरू पनि हुने गर्छन् ।

तर साउदी दूतावासले सूचना जारी गरेपछि नेपालीहरू रोजगारीबाट वञ्चित हुने भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर नै ध्यानाकर्षण गराएको थियो ।

साउदी दूतावासले तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा जारी गर्ने भने पनि आउँदा दिनमा यो नियम कार्यान्वयन भएमा नेपालबाट रोजगारीमा साउदी जाने हरेकले शैक्षिक प्रमाणपत्र जुटाउन पर्छ । शैक्षिक प्रमाणपत्र जुटाउन नसक्नेहरूले पहिलेजस्तो सहज रूपमा साउदीमा लेबरको काममा जान पाउने अवस्था नहुन हुन्छ ।

साउदी नेपालीहरूको रोजाइको देश हो । खाडीका ६ देशमध्ये साउदीमा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या धेरै छ ।

वर्षमा सरदर दुई लाखभन्दा बढी नेपालीहरू रोजगारीका लागि जाने गरेको श्रम मन्त्रालयको श्रम तथा आप्रवासन रिपोर्ट २०२२ ले देखाएको छ ।  तर यो सङ्ख्या गएको आर्थिक वर्षदेखि भने बढ्न थालेको छ । गएको आर्थिक वर्षमा झण्डै तीन लाख जना नेपाली रोजगारीका लागि साउदी गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ लाखभन्दा धेरै नेपाली सरकारसँग श्रम स्वीकृति लिएर विभिन्न देशमा गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?