नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो । घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर, क्रोएसियाले खेलमा कमब्याक गर्‍यो । ५५औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए     ।खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २-२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्‍यो । पेटकोभिचले ९८औं र मोडरिचले ११६औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो । क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?