महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र हङकङबीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो

एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपाल र घरेलु टोली हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो । खेल वर्षाले रद्द भएसँगै नेपाल र हङकङले १/१ अङ्क बाँडेका छन् । नेपाल ३ खेलमा २ अङ्कसहित समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतको ‘ए’ टोलीसँगको खेल पानी परेका कारण प्रभावित हुँदा अंक बाँडेको थियो । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागी हुने अवसर पाएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?