पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता

मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र  दारले जानकारी दिए । तीन जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ । यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

 शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् । यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ । बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?