दुई देशको तनावपूर्ण सम्बन्धका बीच अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीनमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीन पुग्नुभएको छ । दुई ठूला अर्थतन्त्र भएका देशबीचको तिक्ततापूर्ण सम्बन्धका बीच अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीनको राजधानी बेइजिङ पुग्नुभएको बीबीसीले जनाएको छ ।

ब्लिन्केन गएकाे पाँच वर्षयता चीन भ्रमण गर्ने पहिलो शीर्ष अमेरिकी कुटनीतिज्ञसमेत हुनुहुन्छ । यसअघि गएको फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चीन भ्रमण गर्ने तयारी रहेकोमा अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन उडेको विषयलाई लिएर अन्तिम समयमा रोकिएको थियो । सन् २०२१ मा जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा नियुक्त भएपछि चीनमा अमेरिकाबाट उच्च तहको भ्रमण भएको थिएन ।

दुई दिने भ्रमणका क्रममा ब्लिन्केनले परराष्ट्रमन्त्री छिन ग्याङ, चीनका शीर्ष कुटनीतिज्ञ वाङ यीसँग भेटघाट गर्ने कार्यक्रम छ । सम्भव भएमा राष्ट्रपति सी चिनपिङसँग पनि भेटघाट हुने बताइएको एएफपीले जनाएको छ । यात्राको एजेन्डामा दुवै देशबीच सम्बन्ध सुधार्नु, व्यापारमा सहजीकरण र युक्रेन युद्धमा रुसलाई जाने चिनियाँ हतियारलाई रोक्ने विषय रहेका छन् ।

ब्लिन्केनको भ्रमणले आउँदो महिनामा थप द्विपक्षीय बैठकको तयारी हुने बीबीसीले जनाएको छ । हिजो शनिवार अमेरिकी राष्ट्रपति बाइडेनले आउँदो केही महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न सक्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?