जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सर पीडित एक महिलालाई अस्पतालकाे आईसीयूमै पुगेर नागरिकता प्रदान गरेकाे छ। काठमाण्डाैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जकाे सघन उपचार कक्षमा उपचाररत पालुङटार नगरपालिका-७ की रविना दराईलाई शनिवार हिजाे नागरिकता प्रदान गरिएको हो ।
‘उहाँको श्रीमान् हितबहादुर दराईले प्रशासन कार्यालयमा आवश्यक सबै कागजपत्र पेस गर्नुभएको थियो, त्यही आधारमा हामीले असार १ गते नागरिकता प्रिन्ट गर्यौँ’ प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीले भन्नुभयो,’नागरिकता प्राप्त गर्नेको औँठाछाप लिएर प्रमाणपत्र दिन हामी शनिवार हिजाे अस्पताल पुगेका हौँ।’
नागरिकता प्राप्त भएपछि क्यान्सरपीडित बिरामीले राज्यबाट पाउने उपचार सहुलियत र अन्य सुविधा प्राप्त गर्न सजिलो भएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अपाङ्गता भएकाहरूलाई पनि घरमै पुगेर नागरिकता उपलब्ध गराउँदै आएको छ ।