आईसीसी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा फितलो ब्याटिङ गरेको नेपालले १६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बाब्वेको हरारे मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव ३ ओभरमै सबै विकेट गुमाउँदै १६७ रनको योगफल बनायो ।
सुपर सिक्समा स्थान बनाउन जित्नै पर्ने दबाबका साथ मैदान प्रवेश गरेको नेपालका दुवै ओपनरले राम्रो प्रदर्शन गर्न सकेनन् । ४२ बल खेलेका कुशल भुर्तेलले २ चौकाको सहयोगमा २७ रन प्रहार गरे । अर्का ओपनर आसिफ शेख रनको खाता नखोली मैदानबाट बाहिरिए । उनले दुई बल खर्चिए ।
त्यस्तै अर्का ब्याट्सम्यान भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । आसिफ शेख भने सस्तैमा मैदानबाट बाहिरिए । उनले ४ बलमा ६ रन प्रहार गरे ।
नेपालका लागि सर्वाधिक रन बनाएका कप्तान रोहित पौडेले इनिङ्स सम्हाले प्रयास गरे पनि सफल हुन सकेनन् । ५५ बल खेलका कप्तान पौडेलले ३ चौका र १ छक्काको सहयोगमा ३३ रन प्रहार गरे ।
कुशल मल्लले १९ बलमा १२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए । गुल्सन झाले ३१ बलमा १ चौकाको सहयोगमा १५ रन बनाए । करन केसीले ३ बलमा १ रन जोडे भने ४ चौकाको सहयोगमा सन्दीप लामिछानेले ३३ बलमा २७ रन जोडेर मैदानबाट बाहिरिए ।