रुसले राजधानी मस्कोसहितका सहरहरुमा प्रतिआतङ्कवाद कानुन लागू गरेको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहको विद्रोहपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिआतङ्कवाद कानुन लागू गरेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।
एक भिडियो सन्देश जारी गर्दै पुटिनले विद्रोह गर्नेहरुलाई कारबाही गर्ने बताउनुभयो । वाग्नर समूहका प्रमुखको नाम नलिइकन पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताउनुभयो । वाग्नर समूह मुख्य गरी रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक समूह हो ।
वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले अहिले विद्रोहको प्रयास गरेको नभइ रुसी नागरिकका लागि लड्न लागेको बताउनुभएको बीबीसीले जनाएको छ । आफ्नो समूहका २५ हजार सैनिक मर्न तयार भएर अघि बढेको र त्यसपछि थप २५ हजार जना यसैगरी मर्न तयार भएर आउने उहाँले दाबी गर्नुभएको छ ।
उहाँले रुसी रक्षामन्त्री सर्गेई शोइगुइलाई हटाउनुपर्ने माग गर्नुभएको छ । रुसी सेनाको असफलता र युक्रेनमा भएको रुसी सेनाको उच्च क्षति शोइगुइको असफलता रहेको उहाँको भनाइ छ ।