कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाकाे सफल प्रत्यारोपण

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीवार हिजाे बेलुका रोल्पाको रोल्पा नगरपालिका–२ का ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले मिर्गौला दान गर्नुभएको हाे ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको टोलीले हिजाे मिर्गाैला प्रत्यारोपण गरेको थियाे । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भइ प्रत्यारोपण सेवा शुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताउनुभयो ।

प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका नागरिकले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताउनुभयो । उहाँले प्रदेश अस्पतालले नमुना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका लागि काम गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आउँदा दिनमा पनि आवश्यक हुने बताउनुभयो । यसभन्दा पहिले २१ माघ २०७९ मा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ का ४१ वर्षीया आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?