गाेरखाकाे आरुघाटमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गयो

गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीमा रहेकाे सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मान्वुमा रहेकाे श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए । होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर उनकाे ज्यान गएको हाे ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्याएको र उपचारका क्रममा नै बालकको ज्यान गएकाे प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएका प्रहरीको भनाइ छ । बालक बिहीवार हिजाे दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?