श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा भर्खरै भएका मृत्युको पूर्ण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको बताउनुभएको छ ।
पछिल्ला महिनाहरूमा श्रीलङ्काका सरकारी अस्पतालहरूमा गुणस्तरहीन औषधिका कारण कैयौँ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
स्वास्थ्यमन्त्री रामबुकवेलाले पत्रकारहरूसँग भन्नुभयो, ‘श्री जयवर्धनेपुरा विश्वविद्यालयका चण्डिमा जीवन्दराको अध्यक्षतामा गठित समितिमा औषधि र नर्सिङका साथै एलर्जी दुवैको व्यापक ज्ञान र समझ भएका विशेषज्ञहरू समावेश गरिएका छन् ।’
यस समितिले विस्तृत अध्यनपछि दिने सुझावले देशको अस्पतालहरूबाट सेवा लिने नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।