काठमाण्डाै महानगरले ताेक्याे पार्किङ शुल्क, प्रतिघण्टा दुई पाङ्ग्रेको २५ र चार पाङ्ग्रेको ७५ रुपैयाँ

काठमाण्डाै महानगरपालिकाले दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीकाे पार्किङ शुल्क निर्धारण गरेको छ ।

साेमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र गाडीकाे पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नुपरेको बताउनुभयाे ।

उहाँका अनुसार काठमाण्डाै महानगरभित्र दुई पाङ्ग्रे गाडीकाे आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएकाे छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा पाँच/पाँच रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो । यस्तै चार पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाकाे ७५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

उपमेयर डंगाेलले महानगरको न्यायिक समितिमा कोठा र पसलको शटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको सङ्ख्या बढेकाे पनि बताउनुभयाे । पछिल्ला दिनमा आर्थिक मन्दीका कारण पनि त्याे उजुरी न्यायिक समितिमा झन्डै दोब्बरले बढेको उहाँले बताउनुभयाे । हरेक १० वटा उजुरीमध्ये आठ वटा उजुरी कोठा र शटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको महानगरपालिकाले बताएको छ ।

उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरू भागेको उजुरी पनि आउने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?