निगमको ‘ग्राउन्डेड’ दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एउटा जहाज मर्मतपछि आज साेमवार बेलुकीदेखि नियमित उडानमा आउने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एन–एकेडब्ल्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । याे जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी एन–एकेएक्स जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएको छ ।

जहाजमा चरा ठोकिँदा इन्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए । ‘निगमका जहाज नियमित मर्मत र इन्स्पेक्शन गर्ने क्रममा जहाजको दायाँ इन्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र त्याे जहाज मर्मतपछि आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अर्को जहाजको नियमित इन्सपेक्शन गर्दा बायाँ इन्जिनकाे ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’ मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकलमात्र उडान गर्न सकिने भएकाले त्याे जहाज ग्राउन्डडेड गरिएको र चाँडै इन्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ ।

अहिले देखिएको समस्याका बाबजुद यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो । त्यसमध्ये छ साइकल उडानपछि इन्जिनको मर्मतमा जाने उडान (चार साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।

नियमित मर्मत हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोकिएका कारण इन्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताउनुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी चार वटा जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?