काठमाण्डाै महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन शुरु गरेको छ ।
महानगरले अनधिकृतरूपमा बनाइएकाे संरचना भन्दै आज बुधवारदेखि भद्रकुमारी घले सेवा सदनकाे भवन भत्काउने काम शुरु गरेको हो । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी भद्रकुमारी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई यही भवनमा आश्रय दिँदै आउनुभएको छ ।
महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले अनधिकृतरूपमा बनेका संरचना भत्काउनुपरेको बताउनु भयो । उहाँले भवनमा आश्रय लिइरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिककाे महानगरले आश्रयको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
यसैबीच विभिन्न सामाजिक सङ्घसंस्थाहरूले भने समाजसेवाको क्षेत्रमा समर्पित सदन भत्काउने काम गरेको भन्दै महानगरको विरोध गरेका छन् । उनीहरूले पूर्वजानकारीसमेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई आश्रय दिने काम गरिरहेको सदनको भवन भत्काउने महानगरको कदमलाई अत्याचारको संज्ञा दिएका छन् ।
पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्रीसमेत रहनुभएकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनुभएको छ । उहाँले याे सदनभित्र पुस्तकालय, वाचनालय, धार्मिक स्थल, स्कुल आदिको रूपमा प्रयोग गर्दै आउनुभएको छ ।