नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका बासिन्दाले काठमाण्डाै महानगरपालिकाले यसअघि गरेको सहमति कार्यान्वयन नगर्दासम्म बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
एक वर्षअघि काठमाण्डाै महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न दिएका छैनन् । माग पूरा नहुँदासम्म अवरोध कायमै रहने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनुभयो । स्थानीय बासिन्दाको अवरोधकै कारण यसअघि पनि पटक–पटक काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । यस पटक फेरि स्थानीयले अवरोध गर्दा काठमाण्डाैमा फोहर थुप्रिन थालेको छ ।
यसैबीच ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक विना निष्कर्ष सकिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा स्थानीयवासी र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको हाे ।
बैठकपछि ल्यान्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल विना निष्कर्ष सकिएको बताउनु भयो । ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष धनराज बजगाईंले आईतवार काठमाण्डाै महानगरपालिकालगायत १७ वटा पालिकासँग छलफल गर्ने तयारी रहेकाले त्यसपछि मात्रै फोहरमैला व्यवस्थापन कसरी गर्ने भन्ने निष्कर्षमा पुग्ने बताउनु भयो ।
१५ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहर गएको वर्षको भदौ ७ गतेदेखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । अहिले काठमाण्डाै उपत्यकाका १८ वटा पालिकाबाट दैनिक तीन सय गाडी फोहर बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।