काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले आज बुधवारदेखि ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारामा रहेकाे बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक शुरुवात गर्नुभएको हो ।
गाडी पूर्णरूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी चढ्ने र ओर्लने, गाडीकाे झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता गर्दा पनि दुर्घटना हुँदै आएकाले सचेत गराउन याे कार्यक्रम शुरु गरिएको पोरखेलले बताउनुभयो ।
सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभयो । जाँड–रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी चलाएको शङ्का लागेमा, गाडीमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र गाडीमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ ।
कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, गाडीमा हुने पकेटमारीबाट बचौंँ, गाडीमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो ।
ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने ठाउँ काठमाण्डाैका न्युरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आउँदाे १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।