नेपाली कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, देशको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
कांग्रेसको यही साउन २ गतेदेखि चलिरहेकाे केन्द्रीय कार्यसमितिको बैठकमा आज आइतवार आफ्ना धारणा राख्दै परराष्ट्रमन्त्री साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।
विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै उहाँले भन्नुभयाे, ‘सेनाजस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । देशको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।’
प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमासमेत उहाँले जोड दिनुभयो ।