भ्रष्टाचार काण्डका दाेषीहरूलाई सरकारले निर्ममतापूर्वक कारबाही गर्नुपर्छ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचार काण्डका दोषीहरूलाई सरकारले निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाण्डाैमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्नहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुु भयो, ‘अहिलेका यी भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहियोस् । नजन्मिउन् तिनीहरू । पार्टीभित्र नै यसमा बहस शुरु हुनुपर्‍याे ।’

महासचिव भुसालले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गर्नुभयो ।

भुसालले लाेकप्रियताका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताउनुभयो । त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिस्टहरूले त्यो बाटो लिन नहुने उहाँको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?