उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा अनुसन्धानमार्फत तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनुभयो । उहाँले नेताहरू दोषी देखिएपछि पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाउँदा त्यही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी र कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताउँदै कानुन सबैका लागि बराबर हुने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र अनियमिततामा स्वच्छ र निष्पक्ष ढङ्गले अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ । दोषी र अपराधीलाई छोड्ने काम हुँदैन । निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीहरू छुट्ने काम नहाेस् भनेर प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन छ । धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा, सम्पन्नलाई एउटा कानुन म मान्दिनँ, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । नेताहरूलाई एउटा कानुन अनि राजनीतिमा नरहेकालाई अर्को कानुन हुन सक्दैन । कानुन सबैका लागि समान हुन्छ ।’
मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म कारबाही हुने बताउनुभयो ।