शुद्ध खानपान, मेहेन्दी तथा हरियाली चुरा पोतेजस्ता सौभाग्यको साथमा साउने सोमबार मनाउने चलन छ । सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको संकेत साउन महिनामा गरिन्छ । त्यसमा पनि सोमबारको छुट्टै महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वाससाथ बिहानैदेखि महिला शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
साउन र सोमबार आध्यात्मिक मात्र नभई नारी कला र सौन्दर्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । बिहानैदेखि आराध्यदेव पशुपतिनाथको हातामा साउने सोमबारको महिमाप्रति श्रद्धालुहरुको अगाध भक्तिभाव देखिन्थ्यो । एकातिर दर्शनाथी लाईनमा भगवान पशुपतिनाथको दर्शनका लागि व्यग्र थिए भने अर्कातिर मेहन्दी लगाउने, हरियो, पहेंलो चुराको किनवेचमा व्यस्तहरुको भीडभाड थियो । बालबालिका, किशोरीदेखि ज्येष्ठ नागरिक उमेरसम्मकालाई साउने श्रृंगार र पहिरनले तानेको देखिन्थ्यो ।
पवित्र पहिरनसँगै साउनको ब्रत बस्ने महिनाभर नै साकाहारी खाना खाने गर्दछन् भने कतिपय सोमबार शुद्ध खाना खाएर ब्रत बस्ने गर्दछन् । हिन्दू धर्म अनुसार साउन महिनालाई पवित्र महिना मानिन्छ । त्यस्तै, साउनलाई धर्मकर्मको महिना मानिन्छ । त्यसमा पनि सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ । यो महिनामा ब्रत, दान, पूजापाठ गर्दा अन्य समयभन्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ ।
साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनहरु शिव मन्दिरमा दर्शन गर्ने गर्दछन् । साउने सोमबारको ब्रत पति, सन्तान र परिवारको दीर्घायुका लागि बस्ने प्रचलन पछ्याउने अझै भेटिन्छन ।
सोमबारको ब्रत विधि पनि अन्य ब्रतजस्तै हुन्छ । घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान शिवको पूजा गरिन्छ । व्रत बस्ने, भगवान शिवको कथा सुन्ने र बेलुका एकपटक शुद्ध खाना खाने गरिन्छ । यसरी ब्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
पछिल्लो समय साउन महिनालाई उत्सवको रुपमा मनाउन थालिएको छ । ब्रत वस्नेहरु शुद्ध खाना खाएर, पुजा गरेर व्रत बस्ने गरेपनि ब्रत नबस्नेहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउने गर्दछन् ।