गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द भएको छ ।
रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर पनि बन्द छ ।
यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीयबासिन्दाले प्रयास गरे पनि लगातार परेको पानीले समस्या भएको छ ।
अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन र लामो तथा छोटो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गर्नुभएको छ । वर्षाका कारण धेरैजसो ग्रामीण सडक पनि बन्द भएका छन् ।