जुम्लामा वडाबाटै नुन वितरण शुरु

जुम्लामा वडाबाटै नुन वितरण शुरु भएकाे छ । नुन नपाइएको भन्दै उपभाेक्ताले साल्ट ट्रेडिङ कर्पाेरेशन कार्यालयमा तोडफोड गरेपछि वडाबाटै नुन वितरण  शुरु भएकाे हाे ।

साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका हुन् । तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले वडाबाटै प्रतिघरधुरीलाई तीन केजी नुन वितरण गरेकाे बताउनुभयाे । उहाँका अनुसार साल्ट ट्रेडिङ कार्यालयले १५ क्विन्टल नुन उपलब्ध गराएको नुन वितरण गरिएको हो ।

कार्यालय प्रमुख खगेन्द्र मल्लले तातोपानीका १ देखि ७ नम्बर वडा, चन्दननाथको १, ७, ८ र ९ तथा गुठीचौरका २ र ४ वडाले प्रतिघरधुरी तीन केजी पर्ने गरी बुझेका बताउनुभयाे । प्रमुख मल्लका अनुसार अहिलेसम्म झन्डै तीन सय क्विन्टल नुन वडाले वितरणका लागि लगेका छन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभाेक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट नुन वितरण गर्न निर्देशन दिएकाे बताउनुभयाे । साउने सङ्क्रान्तिका लागि गएकाे असार ३१ गते नुन लिन कार्यालयमा गएका उपभाेक्ताले नुन नपाएको भन्दै ढुङ्गामुढा गरेर कार्यालय तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?