तानसेन नगरपालिका, ‘मुख खोल्न पाउँदैनन् नागरिक’

तानसेन नगरपालिकामा सर्वसाधारण नागरिकले मुख खोल्न पाएका छैनन् । पहुँचमा भएका र कार्यालय पुगेर बोल्ने हैसियत राख्ने बाहेक आम नागरिकका सवाल सुन्न नगरपालिका चुकेको छ । सेवा प्रवाहको बारेमा नागरिकबाट अनुमोदन नचाहेको तानसेन नगरपालिकाले १ वर्षको अवधिमा १ पटक पनि सार्वजनिक सुनुवाई गरेको छैन । जनताका सवालको जवाफ दिन नसक्ने अवस्थाबाट तर्किन सार्वजनिक सुनुवाई नगरेको नगरवासिको आरोप छ ।
सार्वजनिक सुनुवाई गर्ने भन्दा भन्दै गर्न नसकेको बताउँदै तानसेन नगरपालिकाका सुचना अधिकारी भरत प्रसाद आचार्यले महत्वपुर्ण कार्यक्रम भएपनि नगरिएको प्रतिक्रिया दिए ।‘हाकिम सापले गर्नुस भनेर भन्नुभएको हो’ आचार्यले भने, ‘तर गर्न सकिएन ।’ १ वर्षमा १ दिन सम्म नागरिकका गुनासा सुन्न नसकेको नगरपालिकाले कुनै महत्वपुर्ण कार्य गरेको छ भनेर जनता पत्याउन भने तयार छैनन् ।
तालमेल छैन
सार्वजनिक सुनुवाई नगरिएको बिषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कार्यकक्षमै सुचना अधिकारी आचार्यको मौखिक प्रतिक्रिया लिए । आचार्यले गर्न नसकिएको स्विकार गरे । प्रमुख प्रशासकीय अधिकृतले पटक पटक कार्यक्रम गर्नका लागि निर्देशन दिनु र कार्यान्वयन नहुनुले कर्मचारि बिचमा कामको तालमेल नभएको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आगामी दिनमा यस्तो हुन नदिने र कडाईका साथ कार्यान्वयन गर्ने प्रतिबद्दता जनाए ।
मेयर प्रश्ट तर अलमल
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेश्ठ प्रश्ट बोल्छन तर कर्मचारीले कार्यान्वयन नगरेको बिषयमा अलमल हुन्छन । ‘मलाई कहाँ थाहा हुन्छ ? मलाई त दिनदिनै गरेपनि हुन्छ गएर भएको जति भटाभट बोल्दिन्छु’ मेयर श्रेश्ठले भने, ‘गर्न भनेको अस्तिनै हो गर्दैनन् त म के गरुँ ?
नागरिक भन्छन सार्वजनिक सुनुवाई नगर्नु गल्ति छोप्नु हो
तानसेनका नागरिकहरुले सार्वजनिक सुनुवाई नगरेर नगरपालिकाले गल्ति लुकाउन खोजेको र प्रश्नबाट भाग्न खोजेको आरोप लगाएका छन । ‘उहाँहरुले सबै चिज सार्वजनिक गर्दा के बिग्रिन्छ ? जनताले गर्ने प्रश्नबाट किन भाग्नु पर्छ ? गल्ती गरेर हैन ? हामिले बोल्न नपाउनु ? मुख खोल्न नपाउनु ?’ तानसेन ९ का मदन राज गैरेले भने, ‘सुशासनको मामलामा नगरपालिका चुकेको छ । सार्वजनिक सुनुवाई गरेपनि झारा टार्नका लागि गरेको भेटिन्छ त्यो पनि गर्न छोडेपछि सकियो ।’
ब्यवसायी तथा राजनीतिकर्मी जीवन पाण्डेले चुनावमा गरेको वाचा कार्यन्वयन गर्न नसकेको प्रश्नबाट भाग्नु लज्जास्पद भएको बताए । उनले भने,‘ जनताले चाहेका कुरा गर्न नसकेपछि त्यसको जवाफबाट भाग्ने बाहेक के हुन सक्छ र ? निराश नागरिकका प्रश्नको जवाफ खुशि जनप्रतिनिधीले दिन सक्दैनन् ।’
-नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?