साउन ३१ गते वुधवार १० मिटर टाढाको मानिस पनि नदेखिने हुस्सु लागिरहेको थियो । सार्वजनिक सुनुवाई गरिएको हलमा पुग्न गाउँपालिका कार्यालय बाट १५ मिनेट हिँड्नुपर्ने छ । वरिपरि कुनै भौतिक संरचना छैनन्, एक्लो हल, बिजुली बिहिन, पानिको अपर्याप्तता, तत्काल केही आवश्यक भए न पसल छ, न निकाश । यसका बावजुत पनि हलमा नागरिकहरु छन । झण्डै ४ घण्टा कच्चि बाटोमा जिप चढेर प्रश्न सोध्न आएका ।
जिल्लाको कर्णाली भनेर चिनाउने गरिएको भौगोलिक हिसावले पाल्पाकै बिकट निस्दी गाउँपालिकाका नागरिकले आफ्ना जनप्रतिनिधी र कर्मचारिलाई ढुक्कले प्रश्न सोध्न पाउँछन । यो वातावरण गाउँपालिका आँफैले बनाउँछ । उसले कुनै बाहानामा यो टार्न खोजिरहेको छैन भन्ने उसले नियमित गरिरहने सार्वजनिक सुनुवाईबाट प्रश्ट हुन्छ । कतिपय स्थानीय तहले वर्षमा १ पटक पनि नागरिकका गुनासा सुन्न नसकिरहेको अवस्थामा निस्दीले नियमित नागरिकका गुनासा सुन्छ र सम्बोधन गर्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले सुशासन तथा पारदर्शिताका लागि नागरिकका गुनासा सुन्नुपर्ने बताउँछन । ‘गुनासो गर्ने सेवा ग्राहीले हो, उहाँहरुका कुरा नसुन्ने हो भने सेवा प्रवाह प्रभावकारी हुँदैन’ दयालले भने, ‘नागरिकका गुनासा सुन्ने र योग्य कुराको कार्यान्वयन गर्नुपर्ने हाम्रो दायित्व हो ।’
प्रशासन शाखाका प्रमुख तथा सुचना अधिकारी अर्जुन खनालले सबै चिजको उपलब्धतामा मात्रै काम हुँदैन भन्ने निस्दीबाट सिकेको बताउँछन । उनले भने, ‘ब्यवस्थापन गरेका छौँ, हामि सबै खट्छौँ, हामिलेनै गुनासो गर्ने अवस्था आयो भने कसरी जनताका गुनासा सम्बोधन गर्न सकिन्छ ? भएको स्रोत साधनको उच्चतम प्रयोग गरेर काम गरेका छौँ । सरकारले निर्दिश्ट गरेका काम, ऐनले तोकेका काम गर्ने कुरामा दाँयाबाँया गर्नु हुँदैन भन्ने हामिलाई थाहा छ ।’
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले सुरुमै छन्द मिलाएर भने,‘मनको मैला धुनुहै सतर्कनी हुनुहै, सार्वजनिक सुनुवाई’– नगरेर जिकज्याक राख्नुभयो जिज्ञासा, हजुरहरु बिज्ञ छ ।’ केहि आक्रोष, तिव्र विकासको आसा अनि सोध्नकै लागि सोधिएको प्रश्नको जवाफ अध्यक्ष सारुले कविताबाट दिए । अध्यक्ष सारुले गाउँपालिकाले उत्पादन हातमा, अनुदान साथमा कार्यक्रम अबलम्बन गरेको जानकारी दिँदै उत्पादनको आधारमा कृषकहरुलाई अनुदान वितरण गरिने बताए । उनले सबै काम सल्लाह र समन्वयबाट गरिने जनाउँदै निस्दीले पारदर्शि ढङगले काम गरिरहेको बताए ।
१८ जना सहभागीहरुले, बाँदरले बालि खाँदा समस्या भएको, विद्युत आपुर्ति अनियमित भएको, योजनाको मुल्याङकन कम हुने गरेको, कतिपय तालिमको प्रभावकारीता कम भएको, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या, कृषकका लागि अनुदान वितरण, पर्यटन पुर्वाधार लगाएतका विषयमा आफ्ना सुझाव सहितका जिज्ञासा राखेका थिए । त्यस्तै नेकपा एमाले पाल्पाका उपाध्यक्ष देविलाल लामिछाने, नेपाली कांग्रेस निस्दी गाउँकार्य समितिका सभापति पूर्ण बहादुर खाँणले निस्दीलाई आवश्यकता परेमा सघाउन तयार रहेको मन्तब्य राखेका थिए ।
सहभागीले उठाएका विषयमाथि प्रमुख प्रशासकिय अधिकृत धु्रव दयाल, वडा नं ५ का अध्यक्ष दुर्गा सोमै, प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी अर्जुन खनाल, इन्जिनियर संजय खनाल, लेखा अधिकृत सरोज खनाल, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिसा, शिक्षा शाखा प्रमुख नर बहादुर थापा र पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गीले जवाफ दिएका थिए ।
पत्रकार माधव अर्यालले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको बिषयमा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले स्वागत सहित कार्यक्रममा आफ्नो धारण राखेका थिए । कार्यक्रममा झण्डै १ सय जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९।८० भएका मुख्य कामको बिषयमा जानकारी गराईनुका साथै चालु आर्थिक वर्षको बजेट र प्राथमिकताका बिषयमा प्रस्तुतिकरण गरिएको थियो ।
-नारायण न्यौपाने