प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गर्नुभएकाे छ । समाजवादी मोर्चाले आज शुक्रवार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्नुभएकाे हाे ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उहाँले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको उल्लेख गर्नुभयाे । क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयाे ।
प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा पोखरा र गाैतमबुद्ध विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान, कोरोला नाका, रुइला नाका सञ्चालन, विद्युत व्यापारलगायतका विषय राख्ने बताउनुभयाे ।