हङकङमा शुक्रवार झन्डै १ सय ४० वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ । वर्षाका कारण सहरका सडक र केही सबवे स्टेशनहरू पानीमा डुबेका छन् भने विद्यालयहरू बन्द गर्नुपरेको छ ।
सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् । विशेषज्ञहरू भन्छन्, ‘जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।’
अधिकारीहरूका अनुसार हङकङमा बिहीवारदेखि ठूलो वर्षा शुरु भएको थियो र मध्यरातसम्म सहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १ सय ५८ दशमलव १ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड शुरु भएयताको सबैभन्दा धेरै हो ।
शुक्रवार दिउँसो अस्पताल प्रशासनले कम्तीमा १ सय १० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ । पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको र उपचारका क्रममा उनको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपत्कालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन् । हङकङको मौसम विज्ञान कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ ।
बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रवारका सबै कारोबार रद्द गरेको छ ।