नेकपा एसले ‘समाजवादी जागरण अभियान’ गर्ने

नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी (एस) ले यही असोज १४ देखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी किनारबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ ।

यस अवधिमा झन्डै एक हजार किलोमिटर यात्रा हुने बताइएको छ । यसबीचमा विभिन्न जिल्लामा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरूसँग छलफल गर्दै र नागरिककाे कुरा सुन्ने पार्टीका महासचिव घनश्याम भुसालले बताउनुभयो । उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादका लागि हुनुपर्ने कार्यक्रमका बारेमा नागरिकलाई बताउने जानकारी दिनुभयो ।

त्यस्तै आउँदाे माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि नागरिककाे सुझाव सङ्कलनका रूपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । यस अभियानका क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै नागरिककाे सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनुभयो ।

महासचिव भुसालले वर्तमान राजनीतिक दलहरूमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अलमल रहेको भन्दै आफूहरू भने स्पप्ट रूपमा अघि बढेको दाबी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?