पाल्पाको निस्दी गाउँपालिकाले सोमबार देखी बृहत एकिकृत घुम्ती शिविर गर्ने भएको छ । गतवर्ष पनि घुम्ति शिविर गरेको पालिकाले जनताको सेवालाई अझ नजिकबाट नियाल्न खोजेको बताएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जनतालाई उनिहरुकै समिपमा गएर सेवा दिनु संघियताको खास मर्म भएको बताउदै यसलाई निरन्तरता दिएको बताए । ‘पालिका सम्म आईपुग्न पनि धेरै समय लाग्छ, पैसा खर्च हुन्छ, कर्मचारी सहित जनप्रतिनिधीनै पुगेपछि सबै काम पनि हुन्छ’ उनले भने, ‘जनप्रतिनिधी त पुगेकै हुन्छन कर्मचारी पनि फिल्डमा जाँदा त्यहाँको अवस्था र जनताको मर्का पनि थाहा हुन्छ त्यसले कार्य प्रभावकारिता बढ्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालले कर्मचारिले सबै किसिमका सेवा शिविरबाट प्राप्त गर्ने बताए । उनले त्यसका लागि सबै तयारी पुरा भएको र कर्मचारी तयार रहेको जनाएका छन । जागिरनै जनताको सेवाका लागि खाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत दयालले घर दैलोमा पुगेर सेवा दिन पाउँदा कर्मचारीलाई पनि थप सिकाई हुने धारणा राखे ।
शिविर सोमवार देखि १० दिनसम्म संचालन हुनेछ । प्रत्येक वडामा शिविर संचालन हुनेछ । योजना सम्झौता, ब्यवसाय दर्ता तथा नविकरण, आँखा जाँच तथा स्वास्थ्य परिक्षण र औषधी वितरण, गरिवी निवारणका लागि लघु उद्यम विकाश कार्यक्रम अन्तर्गत उप्पादित सामग्री पर्दर्शन, भिडियो डकुमेन्ट्री पर्दर्शन, अपाङग परिचयपत्र, जेष्ठ नागरिक परिचय पत्र वितरण तथा सम्मान कार्यक्रम, पञ्किरण सम्बन्धी सेवाहरु, पशु स्वास्थ्य सम्बन्धि औषधी वितरण, कृषि सम्बन्धी रोग किराबारे परामर्श सेवा शिविरमा उपलब्ध हुने गाउँपालिकाका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी अर्जुन खनालले बताए ।
शिविरको समयमा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनबाट हुने सेवा सुविधा भने प्रभावित हुनेछन । सबै सेवा शिविरबाट हुने भएकाले अत्यावस्यक पर्ने सेवाग्राहीहरुले समन्वय गरेर सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ ।
घुम्ति शिविर ब्यवस्थापन र सेवा प्रवाहमा चुनौतीका बिच पाल्पाकै विकट मानिने निस्दीले सिमित स्रोत र साधनमा रहेर पनि सेवा दिएको प्रति स्थानीय जनता खुशी छन ।
नारायण न्यौपाने