सशस्त्र प्रहरीले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँमा गरी पाँच सय ५६ वटा घर टहरा हटाइएको जानकारी गराएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन थालेकोमा अहिलेसम्म पाँच सय ५६ वटा घर टहरा हटाइएको बताउनुभयो ।
सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको उहाँले बताउनुभयो । अहिलेसम्म १७ किलोमिटर खाली भएको छ।
मानिसहरूले घर टहरा बनाएर बसेकाले केही ठाउँमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले बताउनुभयो । त्यस्तै, दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातीमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।