प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा जानुभएको थियो । सम्मेलनमा उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अल्पविकसित देशलाई समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेको बताउनुभयो । यसैबीच प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दाबित्तिकै रुसले मान्ने स्थिति नरहेको बताउनुभएको छ ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले युगान्डा भ्रमणको क्रममा रुसका उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी दिँदै आफूले र परराष्ट्र मन्त्रीले कुटनीतिक पहल जारी राखेको तर रुसले मानिहाल्ने अवस्था नदेखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले संसद् अधिवेशन आह्वान हुने बित्तिकै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?