ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए ।
कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबार, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज पनि प्राप्त गरेको छ, यी विवरणअनुसार लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) पाएकै थिएनन्, बरु सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा सारेका थिए ।
लामिछानेले कामबापतको हिस्सा पाएको दाबी गर्दै आएका छन् । टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ । आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु ।’ उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहोर्याउँदै आएका छन् । लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा आबद्ध भएको सार्वजनिक घोषणा २०७७ फागुनमा गरेका थिए । तर, सेयर प्राप्त गर्न आर्थिक कारोबार भने त्यसअघि माघबाटै सुरु भएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं. ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ ।
रकम जम्मा गर्नेमा लामिछानेसहित सुप्रिमकी कर्मचारी रोशनी गुरुङको पनि नाम छ । ‘म त सामान्य कर्मचारी हुँ, सञ्चालक सरहरूले रवि लामिछाने सरको नामबाट पैसा जम्मा गर्न पठाउनुभयो, बैंकले मेरो पनि नाम राख्न भनेकाले राखेकी हुँ । यो रकम सहकारीको बचत हो, किन पठाइएको हो भन्ने मलाई थाहा भएन, अह्राएको काम गरेकी हुँ,
सहकारीबाट पैसा कसले निकाल्यो ? गोर्खा मिडिया नेटवर्कको खातामा किन जम्मा गर्यो ? यो विषयमा आफूलाई जानकारी र सरोकार नभएको दाबी लामिछानेले गर्दै आएका छन् । तर आफैंले जम्मा गरेको ७५ लाख र बुटवलको सुप्रिम सहकारीबाट आफ्नो नाममार्फत ट्रान्सफर गरिएको एक करोड कारोबारको विवरण लामिछानेसमेतले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका थिए । कार्यालयले उक्त कारोबार रुजु गरेपछि गोर्खा मिडियाको १५ प्रतिशत सेयर लामिछानेका नाममा सदर गरिदिएको हो । वैशाख ५ मा बुटवलको सुप्रिमबाट एक करोड आएको १० दिनपछि अर्थात् १५ वैशाख २०७८ मा लामिछानेको नाममा सेयर कायम भएको हो ।