संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन् । यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई सामूहिक भेटेर बजेटको आकार बढाउन आग्रह गर्ने भएका छन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने मिति र समय भने तय भइसकेको छैन, तर भेट्नका लागि समय मिलाउने प्रयास भइराखेको छ ।
संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको थियो । आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयको आकलन छ । बजेट सिलिङको तयारी भइरहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटको आकार बढाउन आग्रह गर्न लागिएको हो ।