चार दशकसम्म पाइडलकै भर

अचेल यहाँ रिक्सा गुड्दैनन्, ई–रिक्सा र अटोकै साम्राज्य छ । प्रविधिले पुराना रिक्सा विस्थापित गरिदिँदा धेरै श्रमिकको रोजगारी खोसिदिएको छ । एकाध पुराना रिक्सावालले ई–रिक्सा र अटोलाई विकल्प बनाएका छन् ।

 

धेरैले चाहिँ पलायनकै बाटो रोजे । तर, झापा मेचीनगर–१३ का बात्तिक राजवंशीको जीवनमा भने न ई–रिक्साले भाँजो हाल्यो, न अटोले नै । ६२ वर्षका राजवंशी चार दशकयता निरन्तर रिक्साको पाइडल खियाइरहेकै छन् ।

ई–सिक्सा, अटोको यो ‘साम्राज्य’मा राजवंशी एक्ला छन् । तर, उनलाई कुनै फिकर छैन । ‘रिक्सा तानिरहेको देख्दा मान्छेहरू फर्की–फर्की मलाई हेर्छन्,’ झापाबाट पूर्वी पहाड जोड्ने चारआली चोकैमा यात्रु कुरिरहेका राजवंशीले हाँलो गरे, ‘मलाई देखेर मान्छेहरू किन अचम्म मानिरहेका छन्, मैलाई थाहा छैन ।’

चार दशकमा राजवंशीले जम्माजम्मी दुई रिक्सा मात्रै फेरे । पहिलो बिग्रिएपछि किनेको दोस्रो रिक्साको उमेर पनि २० वर्ष नाघिसक्यो । अहिले त्यही रिक्साले गर्जो टार्दैछन् ।

पाका मान्छे बिरामी परेझैं बूढो रिक्सा पनि बेला–बखत बिग्रिरहन्छ । अनि मर्मत गरेर काम चलाउँछन् । ‘कहिलेकाहीँ त रिक्सा मर्मत गर्ने खर्च जुटाउन पनि गाह्रो हुन्छ,’ राजवंशीले दुखेसो पोखे, ‘धेरै पटक ऋण काँडेर रिक्सा बनाएको छु ।’

खासमा राजवंशी १० वर्षअघिसम्म मेची राजमार्ग आसपासको चारआली बजार छेउछाउको सुकुम्बासी बस्तीमा बस्थे । श्रीमती र छोराछोरी भारततिर बसाइँ सरेर गए ।

 

उनीचाहिँ दुवागढीको सुकुम्बासी बस्तीतिर लागे । श्रीमतीले भारततिरै बसौं भन्दा पिता पुर्खा जन्मिएको भूमि छाड्न उनको मनले मानेन । ‘मेरा पिता पुर्खा यहीं जन्मिएर बिते,’ भावुक भावमा उनले भने, ‘उनीहरूको थातथलो छोड्न मन मान्दैन । मलाई पनि यतै मर्न मन छ ।’

पुरानो जस्ताले बारेको घरले जसोतसो जाडो छेकेको छ । चैते हुरीलाई कसरी थेग्ने हो, थाहा छैन । अँध्यारो कोठा, भान्सा घर र बिछ्यौना पनि सँगैसँगै छन् । नाताले भान्जा पर्ने रञ्जित राजवंशीको मृत्युपछि उनले ३० हजार ऋण लिएर एक कठ्ठा ऐलानी जमिनसहितको नाममात्रैको यो घर किनेका छन् । त्यही झुप्रोमा जसोतसो एक्लो ज्यान टेको लाइरहेका छन् । एकसरो कपडाले नथेगेपछि काप्दै उनले भने, ‘रिक्साले भात ख्वाउँदैछ, झुप्रोले जाडो छेक्दैछ ।’

झुप्रोमा रिक्सा राख्ने ठाउँ छैन । अलि परतिर पक्की घर भएका छिमेकीकहाँ रिक्सा पार्क गर्छन् । बिहान खाना खाएपछि रिक्सा तानेर चारआली बजार उक्लिने उनी साँझ ६ बजे ओत लाग्न घर फर्किन्छन् । अनि लड्न लागेको झुप्रोमा टाउको लुकाउँछन् ।

सहर व्यस्त छ । त्यस्तै व्यस्त छन् सहरवासी । हतारिनेहरू उनको रिक्सामा चढ्दैनन् । फुर्सदिला र नजिकै गन्तव्य भएकाहरू उनका नियमित ग्राहक हुन् । मान्छे नपाउँदा ठेलाले झैं सामान पनि ढुवानी गर्छन् । ‘दिनमा २/३ सय कमाउँछु,’ चम्किलो अनुहारलाई थप चम्काउँदै आफ्नै लयमा उनी बोले, ‘एक्लो ज्यान छ, चलिहाल्छ ।’

चारआलीका व्यवसायी हरि घिमिरेले २०४० सालदेखि राजवंशीलाई रिक्सा तान्दै गरेको देखेको बताए । राजवंशी भाषामा जमिनदारलाई देउनिया भनिन्छ । देउनिया नामको खोलामा ऊ बेलादेखि धेरै पानी बगिसक्यो तर उनी निरन्तर रिक्सा तानिरहेका छन् । ‘मैले देखेदेखि नै बात्तिक दाइले रिक्सा चलाइरहनु भएको छ,’ घिमिरेले सुनाए, ‘त्यो बेला उहाँको हैसियत जस्तो थियो, अहिलेसम्म पनि उस्तै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?